एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिगमा मंगलबार दुई खेल आयोजना हुँदैछन् ।

दिउसो साढे १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई वालिङ नगरपालिकाले चुनौती दिँदैछ । महिला लिगमा सात खेलबाट १६ अंकसहित दोस्रो स्थानमा रहेको आर्मीले दोस्रो चरण पक्का गरिसकेको छ । १२ अंकसहित चौथो स्थानमा रहेको वालिङ शीर्ष पाँचमा आफ्नो स्थान सुरक्षित गर्ने योजना मै छ । 

दोस्रो खेलमा संकटा क्लब र बागमती युवा क्लब साढे ३ बजे भिड्नेछन । ८ अंक जोडेको संकटा र ७ अंक जोडेको बागमती दुवै शीर्ष पाँचमा स्थान बनाउने योजनामा छन् । हालसम्म तीन विभागीय टोलीको मात्रै दोस्रो चरण पक्का भएको छ ।

अब, बाँकी दुई स्थानको लागि वालिङ, कोशी, संकटा, चन्द्रपुर तथा बागमतीबीच प्रतिस्पर्धा चलिरहेको छ । दोस्रो चरणमा पाँच टोलीबीच डबल राउन्ड रोबिन लिग हुनेछ । त्यसबाट शीर्ष पाँच टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । चार खेल हुने नकआउट चरणबाट लिगको विजेता टुंगो लाग्नेछ । 

प्रतिक्रिया