प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । श्रीलंकका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । 

यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको हो । समितिले परराष्ट्र मन्त्रालयसँग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन । 

राजदूत नियुक्ति सम्बन्धी निर्देशिकामा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ । योग्यता नपुगेको पाइएपछि सोमबार भट्टराईको नाम अस्वीकृत गर्न बोलाइएको बैठक कोरम नपुगेको कारण निर्णय नगरी सकिएको थियो । 

मंगलबार समितिले प्रस्तावित ब्यक्तिको नाम पाएको ४५ दिन पुग्दैछ । ४५ दिन भित्र सुनुवाइसहित निर्णय नभएमा स्वतः अनुमोदन भएको मानिने कानूनी ब्यवस्था छ । सरकारले सिफारिस गरेको १७ जना राजदूतमध्ये १६ जनाको नाम अनुमोदन भइसकेको छ । 

प्रतिक्रिया