कृषिमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा उनहरूबीच द्विपक्षीय हितका विविध विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्ध मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तमा आधारित रहेको स्मरण गरेका हुन् । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागि परेको भन्दै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोग अपेक्षा राखेको बताए ।

नेपालका कृषिजन्य उत्पादनलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गर्दै मन्त्री अधिकारीले भने, “यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।” सो अवसरमा राजदूत श्रीवास्तवले नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा भारत सरकार सहयोग र सहकार्यका लागि तयार रहेको बताए।

प्रतिक्रिया