आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली
आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सेयर कारोबार उत्साह देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलव १६ विन्दुमा पुगेको छ । आज कारोबार रकम भने मध्यम नै रहेको छ । आज ७६ लाख ३४ हजार कित्ता शेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज म्युचुअल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लघुवित्त, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज धेरै कमाउने समूहमा जीवन बीमा समूहको शेयर मूल्य २ सय ६२ अङ्कले बढेको छ । त्यस्तै, निर्जीवन २६२, विकास बैंक १६१, होटल १५४, वित्तीय ६९, लघुवित्त ६१ अङ्कले वृद्धि भएको छ । आज दुई सय वटा कम्पनीको मूल्य बढेको छ भने जम्मा १३ वटा कम्पनीको मूल्य भने घटेको छ । सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । गुमाउनेमा भने कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड रहेका छन ।।
प्रतिक्रिया