संविधान संशोधनमा विचार नपुर्‍याए देश सम्हाल्नै नसक्ने खतरा छ: प्रचण्ड

संशोधन कांग्रेस-एमालेको बहाना मात्रै भएको जिकिर

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन गर्दा विचार नपुर्‍याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताएका छन् । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो-इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रिरयालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संविधान संशोधन निकै संवेदनशील गम्भीर विषय हो । यो संविधान लामो संघर्ष र ठूलो बलिदानपछि संविधान सभाबाट बनेको हो, जसमा अधिकतम राजनीतिक सहमति बनेको संविधान हो, यसमाथि हामीले अलिकति पनि छेडखान गर्ने ढंगले गयौं भने पान्डोराको बाकस खोलेको जस्तो हुने र देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ’, उनले भने ।
‘प्रचण्ड’ले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा (एमाले) को एजेन्डा नभएको बताए ।
“नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरूले औपचारिक रूपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन । त्यसैले यो उहाँहरूको एजेन्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ,” उनले भने ।

प्रतिक्रिया