देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औं वार्षिकोत्सवका अवसरमा सोमबार प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा  भएको समारोहमा राष्टपतिले यस्तो धारणा व्यक्त गरेका हुन् । “हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान, परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”, राष्ट्रपतिले भने । 

राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए । मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चारमा साहित्यको अहम् भूमिका रहेकाले यो महत्वलाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्वपूर्ण प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति पौडेलको भनाई छ  ।

 नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्समा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको राष्टपति पौडेलले उल्लेख गरे । त्यस अवसरमा राष्ट्रपतिले विजयी कविलाई पुरस्कार प्रदान गरेका थिए ।
 

प्रतिक्रिया