काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरूलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् । उनले जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्न  निर्देशन दिएका छन् ।
उनले सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरूसँग समन्वय गरी काममा द्रुतता दिनुपर्ने बताए । ‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो । टिम वर्कका रूपमा अघि बढेर परिणाम दिनुपर्‍यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने,‘ प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’ 

उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरी आउने दिनमा प्रभावकारी रूपमा काम गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया