श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे आज नेपाल भ्रमणमा आएका छन् । 

सोमबार बिहान उनी त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेका हुन् । उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको बताइएको छ । तर राजापाक्षेसँग चौधरी ग्रुपको राम्रो सम्बन्ध रहेका कारण सांसद समेत रहेका बिनोद चौधरीको  निमन्त्रणामा काठमाडौं आएका स्रोतले जनाएको छ ।

चौधरी ग्रुपले राजापाक्षे राष्ट्रपति भएका बेला श्रीलंकामा समेत विभिन्न क्षेत्रमा लगानी गरेको र उनलाई नेपाल भ्रमणका लागि यस अघिबाटै आग्रह गरिन्दै आएको थियो। काठमाडौं अवतरण गर्ने बित्रिकै राजापाक्षे सिधै ललितपुरको झमसीखेलस्थित होटल भिभान्तामा गएका र आज उनको बसाइ त्यही हुनेछ ।  पारिवारिक भ्रमणमा आएका राजापाक्षेले  नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने,त्यसैगरी उनले बुद्ध जन्मस्थल लुम्विनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।

राजापाक्षे २ वर्षअघि श्रीलंकाका राष्ट्रपति रहेका थिए। तर उनी श्रीलंकामा भएको आर्थिक मन्दीपछि आन्दोलन चर्किएपछि उनी शैन्य शिविरमा शरण लिन बाध्य भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए।

उक्त आन्दोलनपछि श्रीलंकामा गत शनिबार पहिलो पटक राष्ट्रपतिको निर्वाचन भएको थियो । सो निर्वाचनबाट  बामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति निर्वाचित भएका छन्। उनले आज पद तथा गोपनियताको सपथ पनि लिएका छन् । 

प्रतिक्रिया