नयाँ आर्थिक वर्ष सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदै

आजदेखि नयाँ आर्थिक वर्ष ०८०/८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन् ।  जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन । आयकर ऐन २०५८ मा भएको संशोधन आजदेखि लागु हुँदै छ । यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर लाग्थ्यो । तर, अब आजदेखि वार्षिक ५० लाखभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने भएको छ । त्यस्तै नयाँ आर्थिक वर्षदेखि पहिलोपटक विलासिता शुल्क कार्यान्वयनमा आउने भएको छ । अब पाँचतारे होटेल वा त्यसभन्दा माथिका होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाइएको छ । साथै १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि विलासिता शुल्क लाग्नेछ । यस्तै, वैदेशिक पर्यटन शुल्क पनि आजदेखि नै लागु हुनेछ। जसअनुसार ट्राभल एजेन्सीले बिक्री गर्ने वैदेशिक भ्रमणको प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्नेछ । वैदेशिक रोजगार सेवा शुल्क अर्थात् वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई तिरेको रकमको १ प्रतिशत शुल्कको व्यवस्था पनि आजैदेखि नै कार्यान्वयनमा आउनेछ । भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ । साथै थप सार्वजनिक सेयर निष्कासन एफपीओमा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ । त्यस्तै भन्सार विभागले आजदेखि आयातित सबै वस्तुमा आयातकर्ता र वितरकको लेबल अनिवार्य लगाउनुपर्ने नियम कार्यान्वयन गर्ने भएको छ ।लेबल नलगाएरै वस्तु बजारमा बिक्री वितरण भएमा आजदेखि कारबाही प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ ।।

प्रतिक्रिया