श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित


एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो । पहिलो प्राथमिकताको मत गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो प्राथमिकताको मत गणना भएको हो ।

पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । श्रीलंकामा मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ ।

शुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ । सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ ।

तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शिर्ष दुई उम्मेदवार मध्ये एकलाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ ।

श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ बर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था रहेको छ ।
 

प्रतिक्रिया