दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ बर्षीय बालकको मृत्यु भएको बिषयमा मृतक परिवार र अस्पतालबीच सहमति
काठमाडौं । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ बर्षीय बालकको मृत्यु भएको बिषयमा मृतक परिवार र अस्पतालबीच सहमति भएको छ ।
शुक्रबार राति अस्पताल प्रशासनसँगको वार्तामा सहमति भएपछि मृतक बालकको परिवारले आन्दोलन फिर्ता लिएका छन् ।
मृतकका परिवार र अस्पताल पक्षबीच बालकको मृत्यु भएको घटनाको छानबिन गर्न घोराही–३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।
वार्तामा मृतकको परिवारका सदस्यलाई रोजगारी दिने, परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने, मृतकको परिवारलाई राहत दिन स्थानीय सरकार, प्रदेश र संघ सरकारसँग अनुरोध गर्ने सहमति पनि भएको छ ।
त्यसैगरी, बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न सहमति भएको अस्पतालले जनाएको छ । सहमतिसँगै अस्पतालको आकस्मिक सहितका सेवा आजबाट सञ्चालनमा आएको छ ।
बिहीबार उपचारका क्रममा घोराही उपमहानगरपालिका–३ का ११ बर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले आन्दोलन गर्दै प्रतिष्ठानको सेवा बन्द गराएका थिए ।
प्रतिक्रिया