एन्फा महिला लिगमा संकटा क्लव विजयी

काठमाडौं । एन्फा महिला लिगमा संकटा क्लवले दोस्रो जित निकालेको छ । 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले सुदूरपश्चिम प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो । संकटाका लागि टोमिलोपे जेनिफरले ४ तथा ममता पुन र पुर्णिमा हमालले समान १–१ गोल गरे । 

जितसँगै ७ खेलबाट  ८ अंक जोडेको संकटा तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा अंक बिहीन सुदूरपश्चिम तालिकाको पुछारमा छ । शनिबार नै भएको दोस्रो खेलमा वालिङ नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लबले सुपर लिगमा स्थान सुरक्षित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले वालिङलाई २–० ले हराएको हो । पुलिसका लागि सम्झना लावतीले ६७औँ र इन्जुरी समयमा गोल गरिन् । जितसँगै ७ खेलबाट १५ अंक जोडेको पुलिसले शीर्ष पाँचमा स्थान पक्का गरेको हो । पुलिस लिगको तेस्रो स्थानमा छ । 

पराजित भए पनि वालिङले शीर्ष पाँचमा रहँदै सुपर लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ । सात खेलबाट १२ अंक जोडेको वालिङ चौथो स्थानमा छ ।
 

प्रतिक्रिया