भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगो ढालेसँगै इन्द्रजात्रा सम्पन्न

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा शनिवार सम्पन्न भएको छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको मूर्ति अगाडि ठड्याइएको इन्द्रध्वजा लिंगो यः सिं ढालेसँगै इन्द्रजात्रा सम्पन्न भएको हो ।  इन्द्रजात्राको अन्तिम दिन शनिबार राति १० बजेर ३१ मिनेटको साइतमा लिंगो ढालेसँगै जात्रा सम्पन्न भएको हो । शनिवार नै नानीचाः याः अर्थात महिलाहरुले रथ तानेका थिए । 

आठ दिनसम्म विभिन्न बाजा बजाएर नाचगान, रथयात्रा गरी यो पर्व मनाउने गरिन्छ । जात्राको अन्तिम दिन विधिपूर्वक कुमारी र अन्य देवीदेवताको पूजाआजा गरिएको छ । 

जात्राको अन्तिम दिन शनिवार राति राष्ट्रपति  रामचन्द्र पौडेलले हनुमानढोका पुगेर कुमारीको हातबाट टीका तथा प्रसाद ग्रहण गरेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म रथयात्रा गरेर इन्द्रजात्रा मनाइने गरिन्छ । 

हनुमानढोकास्थित किलागलबाट सुरु भएको इन्द्रजात्राले नाचगानसहित वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत ठाउँ परिक्रम गरेको थियो । 

करिब तीन सय वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा सुरु गरिएको मानिन्छ । 

प्रतिक्रिया