पूर्वअध्यक्ष रेग्मी अमेरिकामा आयोजित संविधान दिवस समारोहमा सरिक

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको संविधानले लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार, मौलिक हकजस्ता विश्वव्यापी मूल्य–मान्यतालाई समेटेको बताएका छन् ।नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा  संयुक्त राज्य अमेरिकाको वाशिङ्गटन डिसीस्थित राजदूतको निवासमा आयोजित समारोहमा उनले संविधान कानुनी रूपरेखा मात्र नभई हाम्रा मूल्य र सिद्धान्तको प्रतिबिम्ब भएको बताए ।

अध्यक्ष रेग्मीले भने, “इतिहासको यो महत्वपूर्ण क्षणमा लोकतन्त्रका लागि बलिदानी दिने योद्धाकोे त्यागको स्मरण र  संविधानको रक्षा गर्न प्रेरणा देओस् ।”विधिको शासनले लोकतान्त्रिक, समावेशी र समृद्ध समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गर्दै उनले लोकतन्त्रप्रति सबै राजनीतिक दलको पूर्ण प्रतिबद्धता जाहेर गरेको पूर्वअध्यक्ष रेग्मीका प्रेस सल्लाहकार राजेन्द्रप्रसाद पाण्डेयले बताए ।

त्यसअवसरमा पूर्वअध्यक्ष रेग्मीले  नेपाल–अमेरिकाबीचको सम्बन्धको चर्चा गर्दै अमेरिका हाम्रो प्रमुख विकास साझेदार मात्रै नभई व्यापार र  विदेशी लगानीको ठूलो स्रोत भएको बताए । त्यहाँस्थित कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाल–अमेरिका सम्बन्धका विभिन्न पाटो पक्षकाबारे चर्चा गरेका थिए ।

रासस

प्रतिक्रिया