वीरगञ्ज महानगरमा गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने

वीरगञ्ज । वीरगञ्ज महानगरभित्र गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गर्ने भएको छ । वीरगञ्ज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्यको गुरुयोजना तयार गरेर महानगरका ३२ वटै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने तयारी गरेको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संयोजनमा आज शुक्रबार  बसेको बैठमा गुरुयोजना बनाएर खानेपानीको वितरण गर्ने र सरसफाइलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ ।

प्रमुख सिंहले महानगरवासीलाई दीर्घकालिनरूपमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन गुरुयोजना बनाएर कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको बताए ।“सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य प्राथमिकता हो ।

सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने भएको छ,” उनले भने । बैठकले खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्ययोजना लागू गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया