इन्द्रजात्राको रौनकसँगै लाखे र पुलिकिसी नाच प्रदर्शन

काठमाडौं । काठमाडौंको वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनकता छाएको छ । इन्द्रजात्राका अवसरमा नाचिने विभिन्न नाचहरुले जात्राप्रति आकर्षण बढाएको छ । इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीको दिनदेखि आश्विन कृष्ण औंसीको दिनसम्म मनाइन्छ ।

उक्त अवधिमा तिथि टुट हुँदा बाहेक यो पर्व आठ दिनसम्म मनाइन्छ । कतिपय नाच आठै दिन नाचिन्छ भने कुनै कुनै विशेष अवसरमा मात्र नाच्ने गरिन्छ । इन्द्रजात्राका अवसरमा शुक्रबार किलागल क्षेत्रमा सेतो ऐरावत हात्तीको स्वरूपमा एउटा नाच प्रदर्शन गरिएको छ । जसलाई पुलुकिसी अर्थात् हात्तीनाच भनेर चिनिन्छ । 

इन्द्रजात्रामा लाखे नाचको पनि रौनकता छाएको छ । इन्द्रजात्रामा नाचिने लाखे नाचलाई यँला लाखे भनिन्छ । इन्द्रजात्रा अन्र्तगत भोलि शनिबार नानिचा यात्रा हुनेछ । त्यसैदिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालिनेछ । ढालिएको लिङ्गो टेकु दोभानमा सेलाएपछि जात्रा सकिएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रुपमा पूजा गर्ने चलनलाई मल्लकालीन शासनबाट शुरु भएको मानिन्छ  । 
 

प्रतिक्रिया