आमा र छोरा हत्याका अभियुक्त पक्राउ

उदयपुर ।  उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार  एक जनालाई सार्वजनिक गरेको छ । 

वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र  उनका छ वर्षीया छोरा आरुस थापाको  हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरुबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । 

अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ । आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए । कटारी अस्पत्तालमा शव परीक्षणका समयमा  स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए । 

मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए । अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन् । 
 

प्रतिक्रिया