लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट शुक्रबार तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिराहा लाहान नगरपालिका–१७ बस्ने २२ वर्षीय शिवशङ्कर ठाकुर, २४ वर्षीय अर्जुनकुमार यादव तथा लाहान नगरपालिका–४ स्थित बस्ने वर्ष २८ को सञ्जिवकुमार यादव रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

उनले भने, “प्रहरी प्रभाग नागढुङ्गा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्रामसहित आज बिहान पक्राउ गरेको हो ।”

सप्तरीदेखि काठमाडौंतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख २७२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार निजहरुलाई अवैध लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

प्रतिक्रिया