कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ: प्रकाशशरण महत

सुदूरपश्चिम । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कृषिको उत्पादन बढाउन यस क्षेत्रको व्यवसायीकरण गर्न जरुरी रहेको बताएका छन् । 

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बिहीबार धनगढीमा आयोजना गरेको ‘आपूर्ति व्यवस्थापन र उपभोक्ता अधिकार’ सम्बन्धी अन्तरक्रियामा उनले कृषि उत्पादन बढाउन सकिएमा आत्मनिर्भर हुन सकिने बताए । 

डा महतले नेपालमा झण्डै ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेपनि उत्पादनमा उनीहरूको करिब २५ प्रतिशत मात्रै योगदान रहेको बताए । 

कार्यक्रममा सरोकारवालाहरूले बजार नियन्त्रणमा नहुँदा उपभोक्ताले उपभोग्य सामग्रीमा चर्को मूल्य तिर्नुपरेको, पहुँचवालाको हालीमुहाली हुँदा वास्तविक किसानले अनुदानलगायत सुविधा पाउन नसकिरहेको जस्ता समस्या सुनाएका थिए ।
 
उनले सरकारले अनुदान दिँदा लागतमा नभएर उत्पादनमा दिनुपर्ने, कृषिलाई मर्यादित पेशा बनाउन त्यसअनुसारको नीति बनाएर कार्यान्वयन गर्नुपर्ने र अहिलेको आपूर्ति व्यवस्थापनमा सुधार गर्नुपर्ने लगायत सुझाव दिए । 
 

प्रतिक्रिया