चीनको सांघाइ शहरमा पुलासन आँधीको प्रभाव, आँधीपछि आएको बाढीले जनजीवन प्रभावित

एजेन्सी । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधी आउँदा चिनियाँ सहर सांघाइका सडक र छिमेकी शहरमा शुक्रबार बाढी आएको छ ।

पुलासन आँधी बिहीबार राति सांघाइको फेङ्जियान जिल्लामा २३ मिटर प्रतिसेकेन्डको वेगमा ठोक्किएको थियो । आँधी अघि बढ्दै गर्दा क्रमिक रूपमा कमजोर हुने पूर्वानुमान गरिएको छ । यद्यपि बिहीबार बिहान पनि वर्षा भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा सांघाइका बासिन्दाहरू घुँडासम्मको पानीमा हिँडिरहेको देखिएको छ । 

यद्यपि अहिलेसम्म कुनै गम्भीर क्षति वा हताहत नभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन । साङ्घाईका केही क्षेत्रले आँधी नजिकिँदै गर्दा बिहीबार आफ्नो चेतावनी स्तरलाई बढाएका थिए । बेबिनकाले सोमबार विध्वंश मच्चाएको केही दिनपछि पुलासन आँधी आएको हो । 

बेबिनका सन् १९४९ पछि सांघाइमा आएको सबैभन्दा शक्तिशाली आँधी थियो । बेबिनका आँधीबाट एक हजार आठ सयभन्दा बढी रुख ढलेका थिए भने ३० हजारभन्दा बढी घरमा विद्युत् काटिएको थियो । आँधी आउनुअघि सांघाइभर चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका थिए ।

प्रतिक्रिया