स्वास्थ्यमन्त्री थापाद्वारा कृत्रिम खुट्टा र ह्विलचेयर वितरण

भक्तपुर । संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गरेका छन् । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा यहाँ आयोजित ह्वीलचियर वितरण कार्यक्रममा मन्त्री थापाले निःशुल्क कृत्रिम खुट्टा एवं ह्विलचेयर वितरण गरेका हुन् ।

उनले नौवटा कृत्रिम खुट्टा र छ जनालाई ह्विलचेयर वितरण गरेका हुन् । कार्यक्रममा मन्त्री थापाले खुट्टा नभएकै कारण धेरै कष्ट भोग्नुपरेकाका लागि संविधान दिवसको अवसर परेर यस्ता सामग्री वितरण गरिएको बताए । मन्त्री थापाले भने , “सहयोग सानै भए पनि प्रयोग गर्नेका लागि ठूलो र जीवन जिउन सहज हुन्छ ।

कृत्रिम खुट्टा वितरणले उनहरुको जीवन सहज हुने विश्वास लिएको छु, सामाजिक कार्य र स्वास्थ्यको विकासमा वागमती प्रदेश सरकार निरन्तर लागिरहन्छ ।”मारवाडी सेवा समिति र धर्मशालालगायत सङ्घ संस्थाको सहयोगमा निःशुल्क शव वाहन सञ्चालन गर्ने र विभिन्न अस्पतालमा प्रति छाक रु ४० मा खाना खुवाउने तयारी भइरहेको उनले बताए ।

अस्पतालमा बिरामीलाई शुद्ध पिउने पानीका लागि प्रदेश अस्पतालमा रु चार लाख बराबरको ‘वाटर प्युरिफायर’ राख्ने तयारी भएको मन्त्री थापाले जानकारी दिए ।

रासस

प्रतिक्रिया