बाइडेनद्वारा बिदाई सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस साताको अन्त्यमा आफ्नो डेलावेयरस्थित घरमा अस्ट्रेलिया, जापान र भारतका नेताहरूलाई स्वागत गरेका छन् । 

क्वाडलाई ती देशले चीनको प्रतिसन्तुलनका रूपमा अगाडि बढाएका छन् । बाइडेनले आफ्नो गृहनगर विलमिङ्टनलाई चार–राष्ट्रिय समूहको शिखर सम्मेलनका लागि चयन गरेका छन् । यो उनी राष्ट्रपति पदमा रहँदा अन्तिम शिखर सम्मेलन हुनेछ । बाइडेनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा नगर्ने निर्णय गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीको नेतृत्व सुम्पिएका हुन् । 

उनले आफ्नो प्रिय विलमिङ्टन घरमा एक–एक गरेर भेटवार्ता गर्नेछन् ।  यसको सुरुआत शुक्रबार राति अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजबाट हुनेछ र शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा जापानी प्रधानमन्त्री फुमियो किशिदासँग जारी रहनेछ । त्यसपछि शनिबार बाइडेनले शहरको आफ्नो पूर्वविद्यालयमा ‘अन्तरङ्ग’ रात्रिभोज र पूर्ण चौतर्फी शिखर सम्मेलन आयोजना गर्नेछन् । 

ह्वाइट हाउसले सम्मेलनमा उपराष्ट्रपति ह्यारिसको उपस्थिति नहुने जनाएको छ ।क्वाड समूहको सुरुआत सन् २००७ मा भएको थियो । यद्यपि बाइडेनले यसलाई बलियो बनाएर ट्रम्पको एक्लोपनवादी वर्षहरूपछि अन्तर्राष्ट्रिय गठबन्धनमा जोड दिएका छन् । 

चीनसँगको तनाव विशेषगरी विवादास्पद दक्षिण चीन सागरमा हालैको चिनियाँ र फिलिपिनो जहाजहरूबीचको सङ्घर्षका कारण बैठकमा चीनबारे प्रमुखताका साथ छलफल हुने अपेक्षा गरिएको छ ।

तथापि ह्वाइट हाउसले पत्रकारहरूको सीमित पहुँचका लागि आलोचना खेपिरहेको छ । विशेषगरी भारतीय प्रधानमन्त्री मोदीको मिडियासँगको कम सम्बन्धका कारण यो कदम उठाइएको भन्ने प्रश्न गरिएको छ ।

सन् २०२३ मा ह्वाइट हाउसको राजकीय भ्रमणका क्रममा दुई प्रश्नको उत्तर दिन मोदीलाई राजी गराइएको थियो । तर, उनले भारतमा आफ्नो अघिल्लो नौ वर्षको शासनकालमा कुनै पनि खुला प्रेस सम्मेलन गरेका थिएनन् । 

ह्वाइट हाउसले बाइडेनले बढ्दो अधिनायकवादको आरोपको सामना गरेको मोदीसँग मानव अधिकारका विषयमा छलफल गर्न नहिचकिचाउने बताएको छ । भारतले सन् २०२५ मा अर्को क्वाड शिखर सम्मेलनको आयोजना गर्नेछ ।
रासस

    

प्रतिक्रिया