प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन सकेन: उपेन्द्र यादव

काठमाडौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन्  । संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदा समस्या भइरहेको भन्दै उनले प्रदेशलाई चाहिने कानून संघले नबनाएको र कर्मचारी, प्रहरी लगायत समायोजन गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन । अध्यक्ष यादवले संविधानमा लेखिएका स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र, कागजमा मात्रै सीमित भएको गुनासो समेत गरे । 
अध्यक्ष यादवले ७ प्रदेश व्यवस्था पनि अव्यवहारिक र अवैज्ञानिक रहेको बताए । राज्य पुनःसंरचना आयोगले दिएको एघार प्रदेशको अवधारणा नै उपयुक्त रहेको उल्लेख गरे । अध्यक्ष यादवले नेपालमा प्रधानमन्त्रीय शासन प्रणाली असफल भइसकेको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीय शासकीय स्वरुपले भ्रष्टाचार र राजनीतिक अस्थिरता खडा गरेको बताए । जनताबाट निर्वाचित कार्यकारिणी अधिकार सम्पन्न राष्ट्रपतिले विज्ञहरुलाई लिएर आफ्नो सरकार बनाउने व्यवस्था गर्नुपर्ने पनि अध्यक्ष यादवको भनाइ छ । यादवले संविधानमा निर्वाचन प्रणाली नै संशोधन गर्नुपर्ने पनि बताए । सत्ताको दुरुपयोग र भ्रष्टाचार गर्ने जग नै नेपालको निर्वाचन प्रणाली भएको उनको भनाइ छ । अध्यक्ष यादवले स्थानीय तहमा दलविहीन आधारमा निर्वाचन गराउनुपर्ने पनि बताए । दलगत निर्वाचन प्रणालीलाई प्रदेश र संघमा मात्रै सीमित गर्नुपर्ने पनि अध्यक्ष यादवले उल्लेख गरे । 

प्रतिक्रिया