लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

एजेन्सी । लेबनानमा विद्युतीय उपकरणले त्रास बढाएको छ । लगातार दुई दिन पेजर र वाकीटकी पड्किँदा ३२ जनाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका हुन्  ।

उक्त विस्फोटमा परी ३ हजार ५ सय भन्दा धेरै मानिसहरु घाइते भएका छन् । घटनापछि फोन वा अन्य उपकरणहरू पनि पड्किने हो कि भन्ने भयमा लेबनानबासीहरू रहेका छन् । मंगलबारको शृङ्खलाबद्ध पेजर विष्फोटको घटनामा मृत्यु भएकाहरूको समवेदनाका लागि जम्मा भएकाहरूको हुलमा बुधबार वाकी टकी पड्किएको थियो । यी घटनापछि बेरुतको विमानस्थलमा वाकी–टकी र पेजरमा प्रतिबन्ध लगाइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हजारौं विस्फोटका घटनापछि लेबनानबासीहरू भयले आक्रान्त बनेका छन् । अधिकांश मानिसहरूमा आफूले बोकिरहेको अन्य कुनै उपकरण त पड्किने होइन भन्ने भय, डर र त्रास बढेको छ । 

लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले पेजर विस्फोटको घटना लेबनानको सार्वभौमिकता र सुरक्षामाथिको आक्रमण भएको भन्दै यसले व्यापक युद्धको सङ्केत दिने बताएका छन् ।  हेजबुल्लाहले यस घटनामा इजरायल पूर्ण रूपमा जिम्मेवार रहेको बन्दै बदला लिने चेतावनी दिएको छ । तर, इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन । 

विश्लेषकहरुले पेजर हेजबुल्लाहलाई सुम्पिनुअघि अपरेटिभहरूले सम्भवतः विस्फोटक जडान गरेको हुनसक्ने बताएका छन् ।  विस्फोटको बारेमा लेबनानी अनुसन्धानको प्रारम्भिक निष्कर्षले पेजरमा बुबी–ट्र्याप जडान गरिएको फेला परेको एक सुरक्षा अधिकारीले बताएका छन् ।
 

प्रतिक्रिया