कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गरिबीका कारण सुदूरपश्चिमका बालबालिका कुपोषणको शिकार बन्दै गएको बताएका छन् । वल्र्ड भिजन इन्टरनेश्नल नेपाल’द्वारा आज बिहिबार धनगढीमा आयोजित ‘ईनअफ’ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहले कुपोषण अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले प्रदेशका बालबालिकामा रहेको कुपोषण हटाउन प्रदेश सरकार र गैरसरकारी संस्थाबीच सहकार्य हुन आवश्यक रहेको बताए । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणको समस्या विकराल बन्दै गएकाले त्यसको न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए ।

उनले सुदूरपश्चिमका हरेक घरमा पोषणयुक्त खानेकुराको बारेमा सचेत गराउन जरुरी रहेको उल्लेख गर्दै दुरदराजका जनताको घरदैलोमै पुगेर पोषणयुक्त खाने कुराबारे सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले स्वास्थ्य क्षेत्रको सुधार तथा पोषण सुरक्षाबारे सचेतना फैलाउन सरोकारवाला निकाय सबैको भूमिका महत्वपूर्ण रहेको बताए  । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीरबहादुर थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का र प्रदेशसभा सदस्यहरूले सुदूरपश्चिममा बढ्दै गएको कुपोषण हटाउन सरकार प्रतिबद्ध भएर लाग्ने बताए ।

रासस
 

प्रतिक्रिया