जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले विभिन्न जातजाति, भाषाभाषी र भूगोलका समुदायबीच एकता र समझदारीको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएकी छिन् ।

अप्पन विराटगढ समाजद्वारा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गण विराटनगरमा आज बिहिबार आयोजित १३औँ अन्तर्राष्ट्रिय जितिया पर्व समारोहमा पूर्वराष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वले समुदायकाबीचमा विश्वास, सहयोग र सद्भावको भावनालाई प्रगाढ बनाउने बताइन् ।

“मुलुकभित्र रहेका विभिन्न जातजाति, भाषाभाषी र भूगोलका समुदायकाबीच समझदारी र एकताको भावनालाई सबल बनाई बृहत् राष्ट्रिय एकतलाई जितिया पर्वले सुदृढ बनाउने अपेक्षा लिएको छु”, भण्डारीले भनिन, “समृद्ध मिथिला सभ्यता र मैथिली भाषा संस्कृति, लोककला र परम्परालाई अक्षुण र पवित्र राख्ने उदेश्यले गरेको कार्य प्रशंसनीय रहेको छ ।”उनिले जनक नन्दनी सीताको जन्मस्थल रहेको यस क्षेत्रमा आजसम्म पनि जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षा र गरिबीको समस्या हुनु हाम्रा लागि चुनौतीको विषय भएको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले अझै पनि बालविवाह, अनमेल विवाह, दाइजो र बोक्सीजस्ता कुप्रथा कायम हुनु निकै दुःखद् विषय भएको भन्दै यसलाई हटाउन प्रयास जारी राख्नुपर्ने सुझाव दिएकी छिन् ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वी झापादेखि मुलुकको मध्य खण्डसम्म मनाइँदै आएको जितिया पर्वको महिमा ठूलो रहेको बताए ।

उनले जितिया पर्व नेपालीको सांस्कृतिक पहिचानको पर्व भएको बताए ।मुख्यमन्त्री कार्कीले जितिया पर्वलाई अझ भव्य बनाउनका लागि सरकारले आवश्यक आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने बताए । जितिया पर्वमा मिथिला क्षेत्रका आमा दिदीबहिनीले आफ्ना छोराछोरी र परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उपवास बस्ने प्रचलन छ । कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त मैथिली कलाकर्मीले गीतसङ्गीत र झाँकी प्रदर्शन गरेका थिए ।सोही अवसरमा मैथिली समुदायका अगुवालाई सम्मान गरेका थिए ।

रासस

प्रतिक्रिया