नेसनल डे कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । संविधान दिवसका अवसरमा  बिहीबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु सहभागी  भएका छन् । 

कन्सर्टमा उनले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरुसँग संविधान दिवसको खुसी साटे। प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए ।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए । नागरिक र कलाकारबाट कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रुपमा मनाउन सबैमा आग्रह गरे । 

त्यसअघि कन्सर्टमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिएको थियो भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।  कन्सर्ट चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ । 

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको क्रमशः प्रस्तुति भइरहेको छ । 

 

प्रतिक्रिया