प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा

बागमती ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज बिहिबार हेटौँडामा आयोजित विभिन्न प्रतियोगिताका पदक विजेता खेलाडीको सम्मान कार्यक्रममा मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितमा हुनेगरी काम अघि बढाइएको बताए ।

युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरेर प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका कार्यक्रमलाई अघि बढाएको उल्लेख गर्दै उनले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताए ।

“खेलकुद राष्ट्रको गहना मात्र होइन यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ”, मुख्यमन्त्री लामाले भने, “यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ ।” 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद र खेलाडीले विश्वसामु नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र प्रदेश सरकारले कार्यविधि तयार गरेर खेलाडीलाई सम्मान र पुरस्कार दिने व्यवस्था गर्ने योजना रहेको बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रासस

प्रतिक्रिया