समयसापेक्ष संविधान संसाेधनले नै दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । ललितपुर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् । 

नेपाली कांग्रेसको पेसागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनद्वारा  बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन आवश्यकता र चुनौती’ विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रुप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रुपान्तरणको विषय महत्वपूर्ण भएको बताए । 

हरेक दलका विमतीबीच संविधान संशोधन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले संशोधनका विषयमा सबै दलबीच भएको सहमतिका बुँदा पहिचान गर्न सक्नुपर्ने बताए ।  संशोधनले दीर्घजीवन प्राप्त गर्ने भन्दै महामन्त्री शर्माले कांग्रेस बदलिँदो परिस्थितिअनुसार संविधान संशोधन गर्न संयम भएर लाग्ने बताए । 

महामन्त्री शर्माले अहिले प्रदेशका मुख्यमन्त्रीहरुले आसन पायौँ, शासन पाएनौँ भन्ने गरेका उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न झण्डै तीन दर्जन कानुन बनाउन बाँकी रहेको अवस्थामा संविधान संशोधनको मुद्दा अगाडि बढिरहेको बताए  । संविधानका कमजोरीलाई केलाएर सुधार नगर्ने हो भने संशोधनको कुनै औचित्य नहुने उनको भनाई थियो । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला, संविधानविद्द्वय राधेश्याम अधिकारी र विपिन अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 
–––

प्रतिक्रिया