प्रत्यक्ष प्रधानमन्त्री, मुख्यमन्त्री र विज्ञहरूको मन्त्रिमण्डल बनाउनुपर्छ: स्वर्णिम वाग्ले

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन्। बिहीवार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका हुन्।

उनले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बीचमा अन्यौल्ता सिर्जना भइरहेको बताए। उनले पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए। 

उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरूको बनाउनुपर्ने बताए।

उनले भने, ‘समन्वयकारी, छरितो निकाय बिचमा रहोस् । माथि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मागेपछि तल पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्‍यो । विज्ञहरूको मन्त्रिमण्डल र प्रदेश सभाको रुप चाहिँ गाउँपालिकाका सदस्यहरू जो हुनुहुन्छ, त्यहीलाई नै विधायकी फङ्शन दिएर जाँदाखेरी अहिलेको जनगुनासो सम्बोधन गर्न सकिन्छ। शासकीय स्वरुप, समावेशिता र वित्तीय संघीयता यि तीनवटै विषय असाध्यै महत्वपूर्ण छन्।’
उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरेअनुरूप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेका बताए।

प्रतिक्रिया