फिल्म ‘छक्कापञ्जा ५’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो गीत सार्वजनिक भएको छ । 

दशैंको अवसर पारेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को उक्त गीत ‘ब्रेकअप सङ’ नाम  फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायतको अभिनय रहेको छ ।

बाबुल गिरीको शब्द, सङ्गीत, एरेन्ज र स्वर रहेको गीतमा ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोशलाई कमेडी शैलीमा देखाइएको छ । गीतले चरित्र चित्रणदेखि पात्रको गेटअप, मुड समेत दर्साउन खोजेको छ । दीपक र माग्ने बूढाले ब्रेकअप अङ्कित सुट लगाएका छन् । 

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । 

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । 

प्रतिक्रिया