काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन्। सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको बताएका हुन्।

विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको उनको भनाइ छ।उनले संविधानलाई समयानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने बताएका छन्।

‘विकासका लागि स्थायित्व चाहिन्छ, अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ। राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो। तसर्थ विकासको लागि स्थायित्व अर्थात निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन्। संविधानलाई समयानुकुल बनाउनु पर्छ। समयानुकुल बनाउने भनेको अनुकुल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो। मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एण्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाँउमा परिवर्तन गर्नु हो। विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो,’ प्रधानमन्त्री ओलीले भने।

राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट गरिने पनि उनले बताए।
 
‘यसप्रति निश्चय नै राष्ट्रिय चासो छ, म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्या मात्र हेर्ने छैनौं। सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ। मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ। संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने चाहन्छ। नहुँदा आम नागरिक कहिले काहीँ निराश पनि हुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले युवा–पुस्ताकै बलमा मुलुक रुपान्तरण गर्न सकिने बताए।युवा पुस्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजलाई हुलमुल गराउन खोज्नेहरूबाट जोगाउन पनि आग्रह गरेका छन् । 'तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूवाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं, गछौँ । सुशासन कायम त हामी गर्छौं, गर्छौं । तर याद गरौं, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ,' प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया