माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा

काठमाडौं ।  ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको छ ।  

इन्द्रजात्राको मुख्य दिन मङ्गलबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा भएको गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । 
  
यही असोज ५ गते शनिबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । सोहीदिन बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबार गएर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत छ । असोज ५ गते राति साढे १० बजे इन्द्रध्वजपातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । 

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको जात्राका अवसरमा विधिपूर्वक पूजा आजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुनेगर्छ । यो क्रम असोज ५ गते अर्थात् आश्विन कृष्ण चौथीसम्म जारी रहने गुठी संस्थानले जनाएको छ । 

इन्द्रजात्राका कारण अहिले वसन्तपुर दरबार क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको घुइचो लागेको छ । 

प्रतिक्रिया