स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा:  स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताएका छन् । 

ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले २७औँ गणेशमान सिंह स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा भएको बताएका हुन् । 

मन्त्री पौडेलले अरु देशमा व्यक्तिको योगदानका आधारमा स्वास्थ्य बीमा सञ्चालन हुने गरेको बताए । नेपालमा यसलाई व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट रकम बीमा कोषमा जम्मा गर्नुपर्नेमा जोड दिए  । 

रोग लागेपछि उपचारभन्दा रोग नै लाग्न नदिने अवस्था सृजना गर्नु आजको आवश्यकता रहेको उनको भनाई छ ।  मन्त्री पौडेलले खाद्यान्न स्वास्थ्यको मुख्य विषय भएकाले निरोगी बनाउने गरी खाने कुरालाई स्वास्थ्यसँग जोड्न सक्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपकप्रकाश बास्कोटा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, सहमहामन्त्री ऋषिराम घिमिरेलगायतले मन्तव्य  राखेका थिए । 
 

प्रतिक्रिया