दशरथ रंगशालामा एसिया रग्बी महिला तथा पुरुष सेभेन्स प्रतियोगिता हुने

काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता नेपालमा हुने भएको छ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता असोज १८ र १९ गते दशरथ रंगशालामा हुने भएको हो ।

 प्रतियोगितामा एसियाका नेपालसहित १७ राष्ट्रको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेभेन्सतर्फ १४ र महिला रग्बी सेभेन्समा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागी जनाउने नेपाल रग्बी संघले जनाएको छ । 

प्रतियोगिता सञ्चालनका लागि करिब २ करोड ८० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन् ।

दोस्रो हुने टोलीले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । नेपालले सन् २०१६ देखि एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीमा निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ ।
 

प्रतिक्रिया