भारी वर्षाले भारतको राजधानी नयाँ दिल्ली डुबानको खतरामा

यमुना नदीको जलस्तर पैतालिस  वर्ष यताकै उच्च

लगातार भारी वर्षाका कारण भारतको राजधानी नयाँदिल्लीको जनजीवन कष्टकर भएको छ । लगातारको वर्षाका कारण यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा राजधानी दिल्ली जलमग्न भएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा शहर पुरै जलमग्न भएको छ । सडकहरुमा यातायात सञ्चालन गर्न कठिनाइ भएको छ । होचो भूभागका वस्तीहरुमा मानिसहरु घर बाहिर निस्कन सकेका छैनन । बाढी प्रभावित क्षेत्रमा आपतकाल लागू गरिएको छ भने होचो क्षेत्रका विद्यालयहरु बन्द गरिएका छन् । यमुना नदी आसपासका क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । गएराति यमुना नदीमा पानीको सतह २ सय ८ मिटर मापन गरिएको छ । यो खतराको विन्दु भन्दा झण्डै दुई मिटर बढि हो । बाढीले सन् १९०० पछिका सबैै कीर्तिमान तोडेको छ । यसअघि सन् १९७८ मा २ सय ७ दशमलव ४९ मिटर जलसतह मापन गरिएको थियो । भारतमा आगामी २४ घण्टा अझै ठूलो बर्षाको चेतावनी दिइएको छ । 
 

प्रतिक्रिया