२०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने वार्षिक कार्ययोजना यस्तो(पूर्णपाठ)

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना तयार पारेको छ । २०८४ को आम निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित वार्षिक कार्ययोजना तयार पारेको हो । हालै सम्पन्न सचिवालयले अन्तिम रूप दिएर पार्टी कमिटीमा पठाएको एमालेको २४ पेज लामो एक बर्से कार्ययोजनामा आगामी एक वर्षभित्र गर्नुपर्ने कामहरूको सूची समेटिएको छ ।कार्ययोजनाहरु कार्यान्वयन गर्न एमालेले सबै तहका पार्टी कमिटीलाई सर्कुलर गरेको छ ।

हालै बसेको सचिवलय बैठकले महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययाेजना पारित गरेको थियो । पोखरेलले हस्ताक्षर गरेर भदौ ३१ पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई पठाएको १८ बुँदे कार्ययोजनाको १४ नम्बर बुँदामा बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने भनिएको छ ।
कार्ययोजनामा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ । त्यस्तै पार्टी जीवनको शुद्धीकरण, आर्थिक सामाजिक रूपान्तरण र जनचासोको सम्बोधनलाई पनि एमालेले कार्ययोजनामा समेटेको छ । 

कार्ययोजनामा नयाँ पुस्तामा पार्टी काम शीर्षक अन्तर्गत एमालेले नयाँ पुस्तामा पार्टी काम पुर्‍याउने र नेतृत्वमा विकासको योजना कार्यान्वयन गर्न प्रदेश कमिटीमा १०, जिल्लामा १५, पालिकामा २० र वडा तथा टोल तहमा ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी ढङ्गले लागु गर्ने जनाएको छ ।

साथै प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्दै पार्टी काममा जोडेर उनीहरूलाई वैचारिक राजनीतिक प्रशिक्षणका अलावा नेतृत्व विकास र उद्यमशीलताका विषयमा समेत प्रशिक्षित गर्ने एमालेको कार्ययोजना छ ।

‘‘समृद्ध नेपाल सुखी नेपाल’को राष्ट्रिय अभियानमा युवाको सार्थक सहभागिता र नेतृत्व स्थापित गर्ने उद्देश्यका साथ चालीस वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजना गर्ने कार्ययोजना बनाएको एमालेले शिखर सम्मेलनको अवसरमा व्यापक जनपरिचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया