पितृ तर्पणका लागि जनकपुरधामको गंगासागरमा श्रद्धालुको भिड

जनकपुर । पितृ तर्पणका लागि जनकपुरधामको ऐतिहासिक गंगासागरमा श्रद्धालुको भिड लागेको छ । 

बुधबारबाट पितृ पक्ष सुरु भएकाले पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण गर्न सर्वसाधारण गंगासागरमा भेला भएका हुन् । गंगासागरमा श्रद्धालुले कुश तिल जौ फुली, काक्रो, द्रव्य हातमा लिएर ऋषि मुनिप्रति श्रद्धा प्रकट गरेर तर्पण गर्दछन् । जसलाई अगस्त तर्पण भन्ने गरिन्छ । 

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मृत्युलोकमा झर्छन् भनी हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । अगस्त तर्पण गरेको भोली पल्टदेखि पूर्वज दिवंगत भएको तिथि अनुसार श्राद्ध गर्ने परम्परा रहेको छ । 

हिन्दुहरूको सबैभन्दा ठूलो पर्व  दशैं तिहार तथा छठ पर्व गर्नु अगाडी दिवङ्गत पितृहरुलाई स्मरण तर्पण, पिण्डदान गर्ने मिथिलामा परम्परा रहेको छ । चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा छ । 

पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि यो श्राद्ध गर्ने धार्मिक परम्परा रहेको छ । पिता स्वर्गीय भएकाहरु यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन् । स्वर्गीय भइसकेका पूर्वजलाई तर्पण दिनाले आत्मालाई शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ ।
 

प्रतिक्रिया