उपप्रधानमन्त्री सिंहद्धारा लौहपुरुष सिंहको सालिकमा माल्यार्पण

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका छन् ।

उपप्रधानमन्त्री सिंहले आज बुधबार बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको भूमिका महत्वपूर्ण रहेको बताए ।
“नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताएका थिए । उनले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन”, उपप्रधानमन्त्री सिंहले भने ।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले ‘कु’ गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिएको उनले बताए ।

मुलुकमा जनतालाई सार्वभौमसत्ता र अधिकारसम्पन्न बनाउन सिंहमा प्रतिबद्धता र समर्पण भावना रहेकाले जनताका बीच रुचाइएका नेताका रुपमा परिचय बनाउन सक्नुभएको उपप्रधानमन्त्री सिंहले उल्लेख गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागि रहेका छन् ।

विसं १९९७ देखि राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहनुभएका सिंहलाई विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि अस्वीकार गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो ।

रासस

प्रतिक्रिया