दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमले वरिपरीको मुख्य सडक अबरुद्ध

काठमाडौं। काठमाडौंको दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमको तयारीले त्यस क्षेत्र वरिपरीका मुख्य सडकहरू अबरुद्ध भएका छन् ।  
संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउन सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएपछि सडकहरू अबरुद्ध भएको हो ।

बानेश्वर, माइतिघर, नारायण गोपाल, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथ लगायतमा क्षेत्रमा जाम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल आसपास पनि जाम छ।

ट्राफिक प्रहरी कार्यालयले  बुधबार बिहानै   ट्राफिक डाइभर्सन गरिएको बारे सूचना जारी गरेको थियो । सूचनामा केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गर्ने जनाएको थियो।

सरकारले असोज भोलि ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया