आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

काठमाडौं । मंगलबार राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । यो वर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ यो वर्ष हप्ताभरि देशैभर शिक्षा दिवस मनाउन  लागिएको छ । 

गत वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो । शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख उपस्थितिमा हुँदैछ । राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक सामुदायिक तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक सङ्घसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम छ  । 

दिवसका अवसरमा शुभकामना दिदै यसैबीच, प्रधानमन्त्री ओलीले पिछडिएका वर्ग,क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले शिक्षा क्षेत्रका लागि बजेट बढाउँदै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन प्रतिबद्धता जनाएका छन् ।  

शिक्षा मन्त्रालयका अनुसार मधेश प्रदेश र कर्णाली प्रदेशका समेत गरेर १३ जिल्लालाई साक्षरता घोषणा गर्न सकिएको छैन । मधेश प्रदेशको १ सय ३० र कर्णालीका २३ स्थानीय तह साक्षर हुन बाँकी रहेका छन् । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पाँच वर्षभन्दा माथिको उमेर समूहमा ७६.२ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् । नेपालमा पढ्न लेख्न जान्ने जनसङ्ख्या दुई करोड तीन लाख ७७ हजार ९८० रहेको छ ।
 

प्रतिक्रिया