ललिता निवास जग्गा प्रकरण: तत्कालिन नासु र खरदार सीआईबीद्वारा पक्राउ

बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा अनियमितता प्रकरणमा मुछिएका धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले आज जग्गा हिनामिना प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तत्कालिन मालपोतका दुई कर्मचारी पक्राउ गरेको हो । पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका छन । ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा एक सय ७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको छ । चारपटकमा गरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएकाले लिखतसम्बन्धी चारवटा कीर्ते कसुरमा मुद्दा चलाउने तयारी सीआईबीको छ । सीआईबीले भने चार सय छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउँदै अनुसन्धान अघि बढाएको हो । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउनेदेखि गुठीमासमेत ल्याएर हत्याउने खेल चार ‘चरण’मा पूरा गरेको सीआईबीको निष्कर्ष छ । सीआईबीको अनुसन्धान रिपोर्टअनुसार २० वर्षको अवधिमा ४ चरणमा सो जग्गा हत्याइएको छ । २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर व्यक्तिको नाममा कायम गरेको तथ्य भेटेको जनाएको छ ।
 

प्रतिक्रिया