मेटमणिको अभिव्यक्तिमा भारतीय नागरिक बोलिरहेको कि नेपाली ? झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई कारबाहीको लागि माग गरेका छन् । टेलिभिजन अन्तर्वार्ताको क्रममा चौधरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता भूभागहरु भारतकै हुन् भनेर दिएको अभिव्यक्ति राष्ट्रियता विरोधी भएको भन्दै खनालले उनलाई कारबाहीको माग गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले विज्ञप्ति जारी गर्दै  चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो रु यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक रु यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो ।’

खनालले विज्ञप्तिमा पार्टीका उपमहासचिव मेटमणिको नाम उल्लेख  नगरिकन ‘हाम्रो पार्टीका एक जना उपमहासचिव’ लेखेर सम्बोधन गरेका छन् ।उपमहासचिवलाई पनि इन्भर्टेड कमाभित्र राखेर जारी गरिएको विज्ञप्तिमा खनालले लेखेका छन्, ‘उक्त ‘‘उपमहासचिव’’को उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ ।’

यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको बताउँदै खनालले तत्काल कारबाही गर्नुपर्ने धारण व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया