दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकोप्टर
आज बिहान दश बजेबाट बेपत्ता भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको हो । हेलिकप्टरमा पाइलटसहित ५ जना चढेका थिए । पाइलट चेतबहादुर गुरुङ बाहेक अरुको पहिचान खुलेको छैन । अन्य ५ जना मेक्सिकोका नागरिक रहेका छन । दुर्घटनास्थलमा छ जनाकौ शव फेला परेको बताइएको छ । ३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको स्थानीयले बताएका छन । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान दश बजे उडेको यो हेलिकप्टर करिव पन्ध्र मिनेटपछि सम्पर्कविहीन भएको थियो । नाइन एन एमभी कलसाइन रहेको हेलिकोप्टर दूधकुण्ड गाउँपालिका– दुई लामाजुरासम्म नागरिक उड्ययन प्राधिकरणको लुक्ला कार्यालयसँग सम्पर्कमा रहेको थियो । लामाजुराबाट यता काठमाडौं टावरलाई हस्तान्तरण गरिसकेपछि हेलिकप्टर बेपत्ता भएको थियो । लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको बताइएको छ ।
प्रतिक्रिया