घन्टी बजाएर लामिछानेले उद्घाटन गरे रास्वपाको राष्ट्रिय भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौमा सुरू भएको छ।

पार्टी सभापति रवि लामिछानेले काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने भेलाको घन्टी बजाएर उद्घाटन गरेका थिए।

केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा केन्द्रीय समिति, निकाय, प्रदेश समिति, जिल्ला र पालिका तहको कमिटीबाट प्रतिनिधित्व छ। रास्वपाले ४०० पालिकामा आफ्नो संरचना रहेको बताएको छ।

भेलामा पार्टी सभापति लामिछानेको राजनीतिक प्रतिवेदन, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेजहरू पेश हुनेछन्।

पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो।
 
त्यहीअनुसार नै पार्टीको केन्द्रीय समितिले राष्ट्रिय भेलाको मिति तय गरेको हो।

यही भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति तय गर्नेछ।

प्रतिक्रिया