किसानले दशैंअघि दुग्धपदार्थको बक्यौता भुक्तानी पाउने सम्भावना न्यून

काठमाडौं । किसानले दशैंअघि दुग्धपदार्थको बक्यौता भुक्तानी पाउने सम्भावना न्यून देखिएको छ । 

मन्त्रिपरिषद् बैठकले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड ऋण दिने निर्णय गरेपनि कागजी प्रक्रिया ढिला हुँदा भुक्तानीमा अन्योल देखिएको हो । किसानलाई भुक्तानी गर्ने सवालमा प्रधानमन्त्री चासो दिए पनि दुई साता बित्दासम्म अर्थबाट रकम निकासा नभएको हो । 

सरकारसँग डीडीसीले तीन पटक गरी ६५ करोड ऋण लिइसकेको छ । थप ६० करोड ऋण दिने निर्णय भइसकेको छ । डीडीसीले किसानलाई तिर्नुपर्ने बक्यौता असारसम्म १ अर्ब १२ करोड बाँकी छ । साउनको करिब १७ र भदौको पनि १७ करोड बक्यौता बाँकी रहेको जनाइएको छ । 

यी सबै गरी किसानले पाउनुपर्ने १ अर्ब ६६ करोड पुगिसकेको छ । तर, डीडीसीले सरकारले ऋण उपलब्ध गराए दशैंअगाडि ८० करोड पठाउने तयारी गरेको छ । सो रकममध्ये सरकारले दिने ऋण रकम ६० करोड र बाँकी २० करोड दैनिक दुग्धपदार्थ बेचेको रकम रहेको डीडीसीले जनाएको छ । 

डीडीसीले ४६ भन्दा बढी जिल्लाका २ लाख किसानवाट दुध संकलन गर्दै आएको छ । 
 

प्रतिक्रिया