काभा महिला भलिबल : आज डाइमेड भलिबल क्लबसँग भिड्दै पुलिस

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत तेस्रो खेलमा ताजिकस्तानको डाइमेड भलिबल क्लबसँग मंगलबार प्रतिस्पर्धा गर्दैछ । 

खेल स्थानीय समयअनुसार दिउसो साढे एक बजे हुनेछ । माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पुलिस अपराजित छ । आइतबार भएको पहिलो खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । 

सोमबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्सलाई त्यही सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल भयो । पुलिसको अंक तालिकामा ६ अंक छ । पुलिस यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । 

डाइमेड भने जितविहीन छ । पहिलो खेलमा माल्दिभ्सको पुलिस क्लबसँग ३–० को सेटमा पराजित भएको थियो । सोमबार भएको दोस्रो खेलमा हुमोसँग पनि सोही सेटमा पराजित भएको थियो । 
 

प्रतिक्रिया