सातौँ बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै

मोरङ ।  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित सातौँ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।

स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा दश टोलीको सहभागिता रहने आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा–११ फुटबल क्लब झापा, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर, रारा फुटबल क्लब राजारानी धनकुटा र भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाँउ वेस्ट वेङ्गाल रहने आयोजक समितिले जनाएको छ ।

बेलबारी नगरपालिका र अखिल नेपाल फुटवल सङ्घ (एन्फा)को मुख्य सहयोग र आरजु राईस मिलको मुख्य प्रायोजन रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पाउने भएका छन् ।

प्रतिक्रिया