‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’

काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए । आज सोमबार यहाँ विश्व बैंक र एसियाली प्रकोप पूर्वतयारी केन्द्र(एडिपिसि) ले “आइकेयर इनोभेसन फन्ड”सम्बन्धी एक दिने कार्यशाला आयोजना गरेको छ । उक्त कार्यशालामा जलवायु परिवर्तन रोकथामका लागि डिजीटल प्रविधिको सदुपयोग गर्नेबारे र नविन शैली कसरी अपनाउने भन्नेबारे छलफल गरेका छन् । 

सो कार्यशालामा बोल्दै राज्यमन्त्री विकले जलवायु परिर्वतनको नकारात्मक असर सबैभन्दा बढी सीमान्तकृत समुदायमा देखा परेको बताए । उनले महिला, बालबालिका, वृद्धवृद्धा, आदिवासी समुदायलाई  जलवायुको प्रभावबाट जोगाउन स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने धारणा राखे । “स्थानीय सरकार बढी चनाखो हुनुपर्छ,”उनले भने, “वन मन्त्रालयले सबै तहसँग साझेदारी गरेर जलवायु परिवर्तनमा काम गर्न तयार छ ।” जलवायु विज्ञ डा विमलराज रेग्मीले नेपाल जलवायु परिवर्तनको जोखिमयुक्त देश भएको बताउँदै निजी क्षेत्रसँगै सरकारसमेतले संवेदनशील भएर काम गर्नुपर्ने बताए ।

सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले प्रविधिको प्रयोग गरेर विपद्का असरलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्राडा इन्द्रजीत पल, शिसोन महर्जन, ई सुरज गौतमलगायतले परियोजना कार्यपत्र प्रस्तुत गरेका थिए ।

रासस

प्रतिक्रिया