प्रतिनिधि सभाको ५६ बैठकमा ६ विधेयक पारित, अन्य कामकारबाही यस्तो(पूर्णपाठ)

काठमाडौं। प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबारवाट अन्त्य भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन १३० दिन चलेर अन्त्य भएको हो । गत वैशाख २८ गते सुरु भएको अधिवेशन सोमबार (भदौ ३१) राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरिएको हो । ५६ दिनमा ५६ पटक बैठक बसेको संसद् सचिवालयले जनाएको छ ।

२०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा संसद् व्यतित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए  । यस अवधिमा संघीयसंसद्को दुवै सदनको संयुक्त बैठक जम्मा दुईपटक बैठक बसी तीन घण्टा ५५ मिनेट समय व्यतित भएको थियो । 

बजेट अधिवेशनमा बजेटसँग असम्बन्धित दुई विधेयकसहित ६ विधेयक पारित भएका छन् । संसद् सचिवालयका अनुसार ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक जेठ १३ गतेको बैठकबाट पारित भएको थियो । ‘विनियोजन विधेयक, २०८१, असार ११ गते बहुमतबाट पारित भएको थियो । त्यस्तै, आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ भन्सार महसुल विधेयक असार १६ गते प्रतिनिधिसभा बैठकबाट पारित भएको थियो । 
बजेट अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक साउन ३० गते प्रतिनिधिसभाको बैठकबाट पारित भएको थियो ।

यस अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये तीन विधेयक समितिमा विचाराधीन छन् । प्रतिनिधिसभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमार्फत प्राप्त सरकारी र गैरसरकारी जम्मा १३ वटा विधेयकमध्ये सात विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको जनाइएको छ ।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक’ र ‘बैंकिङ कसुर तथा सजाय (दोस्रोसंशोधन) विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस भएको छ ।

‘राजनीतिक दलसम्बन्धी (दोस्रोसंशोधन) विधेयक, २०८०’ लाई सरकारले सभाको सहमतिमा फिर्ता लिएको छ । प्रतिस्थापन विधेयकको रूपमा दर्ता भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलोसंशोधन) विधेयक, २०८०’ समयमै पारित नभएको कारण र ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८०’ सम्बन्धी गैरसरकारी विधेयकका प्रस्तुतकर्ता सदस्य मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको जानकारी बैठकमा गराइएको छ । 

 

 

प्रतिक्रिया